लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धान काट्दासम्म पनि आएन बंगलादेशको मलः ‘आकाशको फल, आँखा तरी मर’

tillotmacitynews - 2020 Oct 30 08:37 PM
IMG

काठमाडौँ । मुलुकमा रासायनिक मलको अभाव भइरहेको समयमा सरकारले बंगलादेशबाट युरिया मल सापटी ल्याउने निर्णय ग¥यो । तर उक्त निर्णय भएको महिनौँसम्म पनि किसानका लागि बंगलादेशको मल ‘आकाशको फल, आँखा तरी मर’ भनेसरह भइरहेको छ ।धान बालीका लागि युरिया मलको अभाव हुँदा सरकारले बंगलादेशबाट सापटीस्वरुप मल ल्याएर भएपनि किसानलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले पनि जोडबल गरेका थिए ।तर किसानले अहिलेसम्म पनि मल पाउन सकेका छैनन् । धान बालीका लागि ल्याउने भनिएको युरिया मल धान भित्र्याउने बेलासम्म पनि आइपुगेको छैन । यतिबेला धान काटेर गहुँ छर्ने बेला भएको छ । बंगलादेशको मल गहुँ छर्ने सिजनमा पनि नआउने देखिएको छ ।


कृषि मन्त्रालयले बंगलादेशबाट मल ल्याउन बल्ल प्रक्रिया सुरु गरेको छ । गत भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता गर्दै युरिया मल पैंचोमा ल्याउने सहमति गरेका थिए । त्यसपछि कृषि मन्त्री भुसालले बंगलादेशबाट १५ दिनभित्र मल ल्याउने प्रतिक्रिया दिएका थिए ।असोज १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको थियो । मन्त्रिपरिषद्ले सहमति दिएको पनि डेढ महिना भइसक्यो तर बल्ल मन्त्रालयले प्रक्रिया सुरु गरेको छ ।मन्त्रालयका एक सहसचिवका अनुसार बंगलादेशबाट मल ल्याउनका लागि औपचारिक सहमति हुन बाँकी छ । मन्त्रिपरिषद्ले मल ल्याउन सहमति दिए पनि बंगलादेशसँग सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी छ । सहमतिपत्रको ड्राफ्ट बिहीबारमात्र कानुन मन्त्रालयमा पठाइएको छ । कानुन मन्त्रालयले सहमति दिएपछि मात्र बंगलादेशलाई सो पत्र पठाएर औपचारिक रुपमा हस्ताक्षर हुन्छ । दुवै देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मात्रै सापटीको मल बंगलादेशबाट ल्याउने प्रक्रिया सुरु हुन्छ ।


यता कृषि सामग्री कम्पनी लिमिटेडले टेण्डर गरी मल ल्याउने कम्पनी चयन गरिसकेको छ । मल ल्याउने सम्बन्धमा दुई सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर नहुँदै कृषि सामग्री कम्पनीले मल ढुवानी गर्ने कम्पनी चयन गरेको हो ।दुवै देशका प्रधानमन्त्रीस्तरमा सापटी मलको विषयमा कुराकानी भए पनि कृषि मन्त्रालय अन्तर्गत प्रक्रियागत विषय टुंगिएको थिएन । दुई मन्त्रालयबीच कुरा टुंगिन बाँकी रहेकै बेला बंगलादेशबाट ५० हजार मेट्रिक टन मल तत्कालै आउँदैछ भनि हल्ला सुरु भयो । तर बगंलादेशको कृषि मन्त्रालयले केही दिन अघिमात्र सापटीमा मल दिने सहमति जनाएको छ । प्रधानमन्त्रीस्तरमा कुरा भए पनि बंगलादेशको कृषि मन्त्रालयले सापटीमा मल दिन चाहेको थिएन किनकि बंगलादेशसँग पनि पर्याप्त मल थिएन । नेपालले आफ्नो मल खरिद गरोस् भन्ने बंगलादेशको चाहना थियो । बंगलादेशको कृषि मन्त्रालयले नेपाललाई मल बिक्रीकै पहल गरेको थियो ।


कृषि मन्त्रालयले सापटीमा मल ल्याउन मन्त्रिपरिषदले सहमति दिएको हुनाले अहिले नै खरिद गर्ने अवस्था नरहेको जानकारी बंगलादेशको कृषि मन्त्रालयलाई पठाएको थियो । त्यसपछि बल्ल बंगलादेशले नेपाललाई सापटी दिने मल खरिद गरेको छ । नेपाललाई दिने मल खरिद गरेर ठिक पारेपछि मात्र बंगलादेशले नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गर्न लागेको हो ।सबै प्रक्रिया पुरा भएपछि कम्तीमा १५ दिनदेखि एक महिनाभित्रमा बंगलादेशबाट मल नेपाल आइपुग्ने मन्त्रालयको दाबी छ । यो मल आइपुग्दा सम्भवतःगहुँ तथा तरकारी बालीका लागि पनि प्रयोग गर्नुपर्ने समय टरिसक्ने देखिएको छ । यो मल आगामी वर्ष धानका लागि नै प्रयोग हुने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्