लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक र बुटवल पावर कम्पनीबीच विवाद

tillotmacitynews - 2020 Nov 03 08:56 PM
IMG

बुटवलमा उद्योगका रूपमा स्थापित पुराना कम्पनीबीच विवाद चुलिएको छ । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड (एनएचई)को विषयमा विवाद चुलिएको हो । ५१ प्रतिशत शेयर लगानी रहेको बुटवल पावर कम्पनीले ‘एकाधिकार’ जमाउन खोज्ने र हाइड्रोले अटेर गरेरै जान खोज्दा विवाद भएको बताइएको छ। विवाद आदालतमा पुगेको छ । अदालतमा मिलापत्र भए पनि टकराव सकिएको छैन । यही विवादले साधारणसभा समेत हुन सकेको छैन् । बुटवलमा मुख्य कार्यालय रहेको नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड (एनएचई)ले विगत तीन वर्षदेखि साधारण सभा गर्न सकेको छैन । आइतबार आह्वान गरेको वि.सं. ०७४/७५को १४ औं साधारण सभा पनि गणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको छ । उर्जा क्षेत्रमा काम गर्ने चिरपरिचित संस्थामा लगानीकर्ता बीचको मनमुटाव र बहुमतका नाममा भएको पेलाईले कम्पनीको भविष्य संकटग्रस्त बन्दै गएको छ ।


नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडमा ५१ दशमलव ३ प्रतिशत शेयर रहेको बुटवल पावर कम्पनी साधारण सभामा सहभागी नभएपछि गणपुरक संख्या नपुगेको भन्दै कम्पनी ऐनको दफा ७३ अनुसार कम्पनी सचिव होमबहादुर राउतले साधारण सभा स्थगित भएको घोषणा गरेका हुन् ।नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा बुटवल पावर कम्पनीको ५१ दशमलव ३ प्रतिशत, विटीआइको १ प्रतिशत हिमाल हाइड्रोको पुगनपुग १ प्रतिशत र आइक्यानको ४७ प्रतिशत शेयर रहेको छ । बुटवल पावर कम्पनीले वि.सं. २०७४ साल कार्तिक २२ गते नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि साधारण सभा हुन सकेको थिएन ।नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड र बुटवल पावर कम्पनीबीच वि.सं. २०७६ साल पुस १६ गते उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा मिलापत्र गरि मुद्दा फिर्ता लिइएको थियो ।मुद्दा फिर्ता लिँदा गरिएका सहमतीलाई नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलगायतले लत्याएको, सहमतीलाई व्यवहारमा पालना नगरी एकलौटी तवरले काम गरेको विसं ०७३/०७४मा आइक्यानलाई शेयर दिए संगै नाफामा रहेको कम्पनी घाटामा गएको आरोप पावर कम्पनीको छ । त्यस्तै शेयरधनी एवं कामदार कर्मचारीलाई सन्तुष्ट बनाउन नसकेको, नयाँ प्रविधि, मेशिन र नयाँ शेयरहरू थप्न नसकेको तथा नर्वेजियनहरूलाई मात्र खुशी बनाउने कार्यमा लिप्त रहेकाले साधारण सभामा सहभागिता नभएको बुटवल पावर कम्पनीका संस्थापक अध्यक्ष तथा कम्पनीको तर्फबाट नेपाल हाइड्रोमा सञ्चालक समितिमा रहेका विजयबहादुर श्रेष्ठले बताए ।कम्पनीमा भारतीय नागरिकलाई कार्यकारी अधिकृत बनाएर अध्यक्ष रत्न संसार श्रेष्ठले नर्वेजियनलाई खुशी बनाउने, अरू लगानी कर्तालाई पेलेर जाने हरकत गरेकाले समस्या भएको समेत श्रेष्ठले दाबी गरे ।


आइतबारको साधारण सभामा बीटीआइबाट सुमन बस्नेत र अभिमुन्यु पन्थी, हिमाल हाइड्रोबाट पूजा दाहालको सहभागिता रहेको थियो । अध्यक्ष श्रेष्ठले पावर कम्पनीले साना शेयरधनीलाई सञ्चालक समितिबाट हटाउनुपर्ने प्रयास गरेको आरोप लगाए । साना शेयरधनीलाई हटाएर एकाधिकार जमाउन खोजेको आरोप उनको छ । तर कम्पनीमा संस्थापक अडहफटनकै नीति अनुसार काम चलिरहने उनले बताए ।तर ५१ दशमलव ३ प्रतिशत शेयर रहेको बुटवल पावर कम्पनीवाट संचालक समितिमा रहेका विजय र दिनेश हुमागाई सहभागी नभएपछि गणपुरक संख्या नपुगेको भन्दै साधारण सभा स्थगित गरिएकोको हो । बुटवल पावर कम्पनीवाट प्रतिनिधित्व गर्नेले नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलाई धरासायी बनाउने षड्यन्त्र गरेकोले कहिले मुद्दा हाल्ने, अनि साधारण सभामा समेत उपस्थित नभएर गणपुरक संख्या नै नपुराउने गरेको आरोप अध्यक्षलगायतको टिमको रहेको छ ।साधारण सभा नहुँदा कम्पनीले अगाडि सारेका परियोजनालाई भने कुनै असर नपरेको बताउँदै अध्यक्ष रत्न संसारले बुटवल पावर कम्पनीको शेयर ५१ दशमलव ३ प्रतिशत भएपनि संचालक समितिमा केवल ३३ प्रतिशत मात्र रहेकाले बहुमतका आधारमा निर्णय गदै काम अगाडि बढाएको बताए ।


नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा १४० जना कर्मचारी कार्यरत रहेका छन् भने १३ करोड ९५ लाख कुल पूँजी रहेको छ ।हाइड्रोले अहिले सान्जेन र सान्जेन अपर, निस्दी खोला विद्युत्मा काम गरिरहेको छ । चार वटा प्रशारण लाइन निर्माणको काम समेत कम्पनीबाट भइरहेको छ । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड (एनएचई)ले कम्पनी ऐन बमोजिम सात दिनको सूचना प्रकाशित गरेर अर्काे साधारणसभा बोलाइने जनाएको छ । दोस्रो पटकको साधारणसभाका लागि गणपुरका संख्या आवश्यक नपर्ने अध्यक्ष रत्नसंसारले बताए ।

यसअघिको समाचारको शिर्षक र तस्बीरमा बुटवल पावर कम्पनि हुनुपर्नेमा अन्यथा भएकोले क्षमा प्रार्थी सहित सच्याएका छौ धन्यबाद !

कमेन्ट गर्नुहोस्