
जेष्ठ ८ गते शनिबार २०७८ तिलोत्तमा सिटी। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आप्पत्ति जनाएका छन् ।शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताए ।देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको भन्दै उनले भने, ‘मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ, राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन् …यस्तो भाषा बोलिएको छ ।’
‘जनसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तका आधारमा कुनै नालयक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तोकस्तो भाषा बोलेर निहुरिएर केके भाषा बोल्ने यी मान्छेहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् । तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् राष्ट्रपतिलाई ।’अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको उनले सुनाए । एमाले अध्यक्ष समेत रहेका ओलीले अघि भने, ‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको ब्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो ।’प्रधानमन्त्री ओलीले सानालाई स्नेह गर्ने र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको बताए ।तर राजनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६३ सालयताका १५ वर्षमा मानिसहरुलाई लगाएको बचन असभ्यता र संस्कारहिनताको पराकाष्टा भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ ।’
कमेन्ट गर्नुहोस्