
चैत्र ३ गते २०७८,तिलोत्तमा सिटी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् ।होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताए ।एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिनसक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्ने छ भन्ने विश्वास गर्दै गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पुगौं ।
जनपरिचालन गर्ने काममा लागिपरौं । यो पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने छ ।’राष्ट्रियसभाका दुईवटै चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी गरे । अध्यक्ष नेपालले भने, ‘हाम्रो खिसिट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुने छ । घमण्डको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरुको नास हुनेछ ।’कार्यक्रममा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कविताको शैलीमा पार्टीको चुनाव चिह्नको प्रचार गर्न भ्याए । उनले भने–
‘छातीभित्र मुटु बस्छ, छातिबाहिर कलम
सबको जिन्दगीको लागि यही हो ठूलो मल्हम ।’
कमेन्ट गर्नुहोस्