
तिलोत्तमा सिटी न्युज, भदौ ७ गते , नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ४ अन्य कम्युनिस्ट पार्टीहरुले आयोजना गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौं उपत्यकामा देखिएको छैन । महानगरीय ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उपत्यकामा सवारी साधनहरु अन्य दिनहरुमा जस्तै सामान्य रुपमा चलिरहेको तथा उपत्यकाबाट बाहिरिने लामो दुरीका बस पनि निर्बाध चलिरहेका छन् । बिहान केहि कम चलेका सवारी साधन अहिले भने अन्य दिन जस्तै चलिरहेका छन् । ट्राफिक प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर सवारी साधन चलाउन चालकहरुलाई भनेको छ । बिहानैदेखि प्रमुख चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यद्यपि सुरक्षाकर्मीको आँखा छलेर बन्दकर्ताले कोटेश्वरमा दुईवटा र थापागाउँमा एउटा बसको सिसा फुटाएका छन् । तर दुबै स्थानका घटनामा ठूलो क्षति नभएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले बताए । केही बन्दकर्ता पक्राउ समेत गरेका छन् । सरकारसँग २०७७ सालको फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।
कमेन्ट गर्नुहोस्