
तिलोत्तमा सिटी , २०७९ असोज १।अछामको तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २२ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् ।जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिपेश रिजालले जानकारी दिए ।
उनका अनुसार तुर्माखाँद गाउँपालिका–५ मा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । कमल बजार नगरपालिका–६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ भने एक जना अर्काको समेत मृत्यु भएको पुस्टि भएको छ। ढकारीकै वडा नम्बर १ मा एक जना बेपत्ता भएका रिजालले जानकारी दिए ।पहिरोका कारण धेरै भौतिक क्षति भए पनि संकलन नभइसकेको उनले बताए । पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।
बेपत्ताहरुको खोजी भौतिक संरचनाको क्षतिको विवरण संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ । शुक्रबार रातिदेखि परेको ठूलो पानीका कारण शनिबार राति पहिरो गएको थियो । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
ज्यान गुमाउने धेरैजसो बालबालिका रहेका छन् । ज्यान गुमाउने सबैको परिचय खुलेको छ । पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाहीको ज्यान गएको छ ।
त्यस्तै, कमलबजार नगरपालिका–६ की ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामीको ज्यान गएको अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गलाका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिग्रा दमाई, तीन वर्षीय कलु दमाई र चार वर्षीया कल्पना दमाईको ज्यान गएको छ । पहिरोमा परि ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको प्रादेशिक अस्पताल सुर्खेत र केहीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । केही डिस्चार्ज भएका छन् ।
कमेन्ट गर्नुहोस्