
तिलोत्तमा , असार १० गते २०८० । असार सुरु भएसँगै तिलोत्तमा नगरपालिकासहित यस आसपासका स्थानहरुमा बसोबास गर्ने किसानहरु रोपाइँमा व्यस्त हुन थालेका छन् । चर्को गर्मीका बाबजुद तिलोत्तमा बुटवल भैरहवा सहित धेरैजसो ठाउँमा पानी पर्न थालेपछि किसान धान रोपाइँ तथा तयारीमा जुटेका हुन् । भनेजति पानी नपरेकोले भने काम शुरु गर्ने कि के गर्ने भन्ने अलमलमा किसान परेका छन्। गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुन एक हप्तापछि देशभर फैलिएको थियो । मनसुन सक्रिय भएसँगै पानी पर्न थालेपछि किसानलाई राहत भएकाे छ ।
तिलोत्तमाको टिकुलिगढ़मामा पनि यतिबेला किसानहरु खेत हिल्याउन , बिऊ गोड्न खेत गरा मिलाउन र धान रोप्न व्यस्त छन् । उनीहरु जेठकाे अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी नपरेकाले अल्लिक ढिलो राेपाइँ थालेकाे बताउँछन् । राेपाइँका लागि आकाशे पानीकाे भर पर्नु पर्ने स्थानमा समेत खेतमा पानी जम्नेबित्तिकै राेपाइँ सुरु गरेकाे उनीहरुकाे भनाइ छ । सामान्यतया असार १५ गतेदेखि राेपाइँ सुरु हुने भए पनि पानी नपरेपछि असारको पहिलो हप्तादेखि नै किसानहरु चिन्तित बनेका छन् ।
छिटपुट ठाउँमा बाहेक धेरैजसो ठाउँमा अहिले पानी नपरेको अवस्था छ । आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अहिले धानबालीको काम सुरु भएको छ । पानी नपर्दा धानको बिउ मात्रै होइन, मकै, भटमासलगायतका बर्खेबालीमा असर पुगेकाे थियाे । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ धमाधम भइरहँदा आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि केही राेपाइँ सुरु भएको हाे । देशका धेरै ठाउँमा असार मसान्तसम्म र साउनको पहिलो हप्तासम्म रोपाइँ हुन्छ ।
कमेन्ट गर्नुहोस्