
तिलोत्तमा,असोज २१ गते। दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेका छन् । १२ जनासँग भने सर्म्पक टुटेको छ ।
तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै नियमित सर्म्पक भइरहेको छ । ‘त्यहाँ कृषि फार्ममा १७ जना विद्यार्थी थिए । शनिबार बिहानको आक्रमण पछि भागदौड हुँदा उनीहरु दुई समूहमा बाँडिएका थिए । एउटा बंकरमा रहेका दुई जनासँग नियमित सर्म्पक भइरहेको छ । दुई जनामध्ये एकजनाको घुँडामा गोली लागेको अवस्था छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले कान्तिपुरसँग भने, ‘अर्को बंकरमा रहेका मध्ये तीन जनालाई अस्पताल लगिएको छ । अस्पतालमा लगिएको तीन जनामध्ये एकजनालाई आईसीयूमा राखिएको छ । एक जना डिस्चार्ज हुने तयारीमा छन् । शनिबार दिउँसोबाट १२ जनासँग भने दूतावासको सर्म्पक स्थापित हुन सकेको छैन ।’
सर्म्पक टुटेको १२ जनाको अवस्थाबारे खोजी भइरहेको रिजालले बताइन् । ‘मोबाइलको ब्याट्री सकिएको पनि हुनसक्छ,’ रिजालले भने, ‘उनीहरु बंकरमै छन् कि अस्पताल लगिएको छ भन्ने यकिन गर्ने प्रयास भइरहेको छ ।’ दूतावासले इजरायली निकायलाई विद्यार्थीहरु भएको स्थान बारे जानकारी उपलब्ध गराइसकेको छ । किवुज अलुमिन क्षेत्रमा अझै इजरायली सेना पुगिसकेको छैन । गाजा क्षेत्रबाट नजिक रहेको यो ठाउँ हमास लडाकुहरुको नियन्त्रणमा छ । ती विद्यार्थीहरु शनिबार बिहान ६ देखि ७ बजेको बीचमा रकेट आक्रमणमा परेका थिए । जसमा ९ जना घाइते भएको सूचना दूतावास र साथीहरुले पाएका थिए ।
गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थीहरु पुगेका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ३२ जना कृषि विद्याथीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् । उनीहरुको नेपाली दूतावास र गैरआवासीय नेपाली संघसँग सर्म्पक भइरहेको छ ।
सेदोत नेगेभ कृषि तालिम केन्द्रमा अध्ययन गर्न पुगेका ४९ जना विद्यार्थीलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा कार्यरत छन् । त्यसमध्ये सबैभन्दा उच्च जोखिममा १७ जना विद्यार्थी परेका हुन् । एउटा ११ जनाको समूहमा रहेका वदियाका लुइस रिजालले आफूहरु उद्धारको प्रतिक्षामा बसिरहेको कान्तिपुरलाई बताए ।
‘जमिनमाथि हमासका लडाकुहरु हिँडिरहेको आवाज आइरहेको छ । रकेटको वर्षा भइरहेको छ,’ रिजालले भने, ‘बंकरमा लुकेर बसेका छौं । खाना पाइएको छैन । बाहिर सुन्लान् भनेर हामी सासले बोल्ने गरेका छौं । डरैडरमा बाचिरहेको छौं । इजरायली सरकारबाट उद्धारको प्रतीक्षामा छौं ।’
इजरायलमा २ सय ५० कृषि विद्यार्थीसहित ४ हजार ५ सय जना नेपाली कार्यरत छन् । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण गरिरहेको छ । हमासका हतियारधारी लडाकु दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली भूमिका प्रवेश गरेका थिए ।
१७ वर्षदेखि जेरुसेलममा कार्यरत गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष समेत रहेको प्युठानका श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएको बताए ।
कमेन्ट गर्नुहोस्