लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

tillotmacitynews - 2024 May 16 12:14 PM
IMG

तिलोत्तमा सिटी,२०८१ जेठ ३ गते // आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा  खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको  छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ । 


भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख  छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ । 


जनकपुरमा जानकी नवमीको रौनक

सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगत्जननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ ।  यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ । 

।

देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ ।

कमेन्ट गर्नुहोस्