
तिलोत्तमा, २०८१ भद्र २५ गते।तिलोत्तमा डर्बी भिडन्तका रुपमा रहेको स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कपको अन्तिम तथा चौथो प्रिक्वाटरफाइनलमा झरना स्पोर्टस क्लब, कुञ्जलापुरले उत्कृष्ट जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।मंगलबार भएको प्रतिस्प्रधात्मक खेलमा झरनाले आयोजक लिस्नु युवा क्लब, कोटिहवामाथि ५–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । अनेकौ प्रयासमा पनि गोल गर्न चुकेको आयोजकका लागि झरना बाट भने गोलको बर्षात नै भैरह्यो।
राष्ट्रियस्तरका चर्चित खेलाडीहरुले भरिएको दुवै टोली बीचको हेभिवेट भिडन्तमा झरना हावी रह्यो । झरनाका लागि विवेक गुरुङले दुई गोल गरे भने कप्तान कुलदिप कार्की, आदित्य शाक्य र जोन ग्लोरीले थप एक–एक गोल गरे । पराजित लिस्नुका लागि भने ओहिनेबा हेनरीले दोस्रो हाफपछि एक मात्र गोल फर्काए ।खेलमा म्यान अफ द म्याच झरनाका सन्तोष खत्री बनेका छन्। प्रतियोगिता अन्तर्गत भदौ २६ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र छिमेकी जिल्ला पाहुना टोली कपिलवस्तु–११ बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा पशुपति माविको खेलमैदानमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ।
कमेन्ट गर्नुहोस्