
गोर्कट्टा। तिलोत्तमा नगरपालिका वडा नं. ६ को आयोजनामा वडाध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत् शुक्रबार निःशुल्क आँखा परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । आनन्दवन स्वास्थ्य चौकीको समन्वय र श्रीकृष्ण नेत्रालय प्रा.लि. भैरहवाको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा १४५ जना ज्येष्ठ नागरिकले आँखा परीक्षण गराएका थिए । त्यसमध्ये २५ जनामा मोतियाविन्दु र अरू १० जनामा आँखासम्बन्धी अन्य समस्या देखिएकाले थप उपचारका लागि अस्पताल जान सुझाव दिइएको स्वास्थ्यकर्मीहरुले जनाए ।
वडाध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत् यसअघि विभिन्न ६ वटा कार्यक्रम भैसकेको वडाध्यक्ष गणेश पाठकले जानकारी दिनुभयो । वडाध्यक्ष पाठकले समाज बिकासमा योगदान दिनुभएका जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यक्रम संचालन गर्दै आइएको बताउनुभयो । तिलोत्तमालाई मानवीयताको नगर बनाउने नगरपालिकाको योजनालाई सफल पार्ने गरि वडाले स्वास्थ्य क्षेत्रमा काम गरेको समेत पाठकले बताउनुभयो ।
कार्यक्रममा आनन्दवन स्वास्थ्य चौकिका व्यबस्थापन समिती सदस्य अर्जुनराज उपाध्यायले समस्या देखिए पछि मात्र उपचारका लागि अस्पताल पुग्ने प्रवृति हटाउन यस्ता कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो ।त्यस्तै आनन्दवन स्वास्थ्य चौकी प्रमुख रामप्रसाद चुदालीले पौषदेखि सुरु भएको वडा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम आजसम्म आइपुग्दा थुप्रै नागरीक लाभान्वित भएको बताउनुभयो । कार्यक्रममा कृष्ण नेत्रालय प्रा.लि. का डा. सुरेश अधिकारी, जेष्ठ नागरिक पबित्रा पाठक, वडा सचिव कृष्ण बहादुर क्षेत्रीलगायतले बोल्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्