लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उद्धव देवकोटाको कृति ‘समयको फन्को' कविता संग्रह लोकार्पण

IMG

तिलोत्तमा। तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानले कवि उद्धव देवकोटाको नवीनतम कृति कविता संग्रह ‘समयको फन्को'  कृतिकारकी ममतामयी माता चन्द्रकुमारी देवकोटाको ८१ओैँ जन्मोत्सवको अवसर पारेर एक समारोहबीच लोकार्पण गरेको छ।तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानद्वारा आयोजित  कार्यक्रममा प्राध्यापक ऋषिराम भुसाल, भाषाविद् एवम् प्राध्यापक डा. मुरारी पराजुली, वरिष्ठ साहित्यकार वनमाली निराकार, कृतिकार उद्धव देवकोटा र  स्रष्टाकी ममतामयी आमा चन्द्रकुमारी देवकोटाले संयुक्त रूपमा उक्त संग्रहको लोकार्पण गर्नुभएकाे थियाे।


होराईजन गौतम बुद्ध मा.वि. ड्राइभरटोलको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा शिक्षाविद्  हरि ज्ञवालीले देवकोटाका कविता बिम्बात्मक हुने र कविताले समयका आयामका बारेमा बोलेको हुँदा कृतिको शिर्षक सार्थक रहेको बताउनुभयो। साहित्यकार रुद्र ज्ञवालीले कृतिबारे आफ्नो धारणा प्रस्तुत गर्दै समयको फन्को कविता सङ्ग्रह उत्कृष्ट रहेको र देवकोटामा अथाह काव्यिक सम्भावना देखेको कुरा बताउनु भयो। साहित्यकार  डा. श्यामप्रसाद न्यौपानेले देवकोटाका कविताले समसामयिक विषयवस्तु र वर्तमान परिवेशलाई मार्मिक ढङ्गले उजागर गरेको बताउँदै कृतिको प्रशंसा गर्नुभयो। वरिष्ठ साहित्यकार वनमाली निराकारले रुपन्देहीमा देखापरेका आशा लाग्दा युवा कविहरु मध्ये देवकोटा रहेको कुरा  उनका कविताहरूले प्रमाणित गरेको बताउँदै देवकोटाको कविता सङ्ग्रह " समयको फन्को"ले साहित्यिक बजारमा आफ्नो मूल्य स्थापित गराउन सक्नेछ भन्नेमा आफू  विश्वस्त रहेको कुरा बताउनुभयो । 


बरिष्ठ साहित्यकार ऋषिराम भुसालले साहित्यप्रेमीहरूले ‘समयको फन्को’ लोकार्पणलाई साहित्य जगतको लागि महत्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभएकाे थियाे। उद्ववका कवितामा नवीन बिम्ब र प्राविधिक शब्दावलीको प्रयोग ज्यादातर हुने हुँदा कविता फरक शैलिको देखिने कुरा बताउँदै साहित्यिक जीवनको शुभकामना दिनुभयो। डा. मुरारी पराजुलीले कवितालाई कालजयी बनाउनेगरि सृजना गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो। साथै "समयको फन्को" कविता सङ्ग्रह भित्र मिथकीय प्रयोगले गर्दा र देवकोटाले व्युत्पत्तिगत कौशल प्रस्तुत गरेको र कृति शिखरमुखी रहेको बताउँदै सफलताको शुभेच्छा प्रकट गर्नुभयो।


प्रतिष्ठानका महासचिव लीलाधर पाण्डेयले कार्यक्रमको सञ्चालन गर्नुभएकाे थियाे भने संस्थाका सदस्य तथा साहित्यकार रमेश समर्थनले स्वागत गर्नुभएको थियो। साथै उक्त कार्यक्रममा लीलाधर पाण्डेय ,काव्या देवकोटा र स्वयं कृतिकार उद्धव देवकोटाले 'समयको फन्को' कविता सङ्ग्रहमा सङ्कलित केही रचना वाचन गर्नुभएकाे थियाे ।


कमेन्ट गर्नुहोस्