लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाण्डौका मुख्य अस्पतालहरूमा उपचार गर्न भ्याइनभ्याइ, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

IMG

काठमाण्डौ ।जेन–जी पुस्ताले देशव्यापी रूपमा गरेको प्रदर्शनका कारण देशको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ ।दुई दिनअघिको काठमाण्डाै केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ । विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका बिरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको अवस्था छ ।मीनभवनमा रहेकाे सिभिल अस्पतालले बिरामीको चाप अत्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरू सेवा अहिले बन्द गरेको छ । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पुर्‍याउन कठिन भएको छ ।


‘स्रोत साधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ । चिकित्सक तथा नर्सहरू डबल ड्युट' गरेर भए पनि अहोरात्र खटिनुभएको छ तर अहिलेलाई ओपीडी र ओटी सेवा बन्द गरिएको छ’, उहाँले भन्नुभयो, ‘हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ। अहिले अस्पतालमा प्रदर्शनमा घाइते भएका ४६ जनाको उपचार भइरहेको छ ।’त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइते भएकाहरूलाई उच्च प्राथमिकता दिई उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिनुभयो ।‘अत्यावश्यक र रेफर भएर आएका बिरामीको भने उपचार रोकिएको छैन । ओपीडी सेवा सञ्चालनमै छ तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन् । डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ । घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ’, उहाँले भन्नुभयो, ‘अहिले ५३ जना घाइतेको उपचार भइरहेको छ ।’


निर्देशक आचार्यका अनुसार ओपीडी नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने अहिलेलाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिदेखि सबै सेवा सञ्चालन गरिने छ ।राष्ट्रिय ट्रमा सेन्टरमा अहिले ४० जना घाइतेको उपचार भइरहेको छ जसमा चार जनालाई शल्यक्रियापछि आईसीयूमा राखिएको छ । ‘अहिले त अवस्था ठीकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड भएकाे छ’, अस्पतालका निर्देशक डा. बद्री रिजालले भन्नुभयो, ‘चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ । स्रोत साधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ ।’परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि चाैबीसै घण्टा सेवा सञ्चालनमा छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले भन्नुभयो, ‘ओपीडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ ।’

कमेन्ट गर्नुहोस्