
काठमाण्डाै।नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरका कारण हरेक दिन चार जना महिलाको ज्यान जाने गरेको पाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औसतमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ । नेपालमा क्यान्सरबाट महिलाको ज्यान जाने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर हो ।
रोकथाम गर्न सकिने हुँदाहुँदै पनि यो समस्या बढिरहेको मन्त्रालयले जनाएको छ । पाठेघरको मुखको क्यान्सर हुने जोखिम घटाउन समयमै स्क्रिनिङ, एचपीभी खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो ।मन्त्रालयले गएको वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क सेवा प्रदान गरेको छ । यस वर्षको फागुनमा विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई खोप दिने कार्यक्रम रहेको डाक्टर देवकोटाले बताउनुभयो ।
चिकित्सकका अनुसार ३० वर्ष उमेरभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्दछ ।यसैबीच आज विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस मनाइएकाे छ । नोभेम्बर १७ तारिखमा मनाइने दिवसको यस वर्षको नारा ‘आजैदेखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने रहेको छ ।
कमेन्ट गर्नुहोस्