
काठमाण्डौ – जाडो बढेसँगै इन्फ्लूएन्जाको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्नसक्ने हुन्छ । जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार विशेषगरी चिसो बढ्न थालेपछि श्वासप्रश्वासका समस्या बढी देखिन थाल्छ । जसमा छाती, मुख, नाक तथा फोक्सोमा सङ्क्रमण बढ्नसक्ने सम्भावना धेरै हुन्छ।
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकका व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जान सक्छन् । फ्लू भएका धेरैजसोलाई एन्टिभाइरल औषधिहरु आवश्यक नपरे पनि दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अलि बढी जोखिम धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीहरुको निगरानीमा बस्नुपर्ने डा घिमिरेले बताउनुभयो ।
फ्लू भएकालाई टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जीउ र मांसपेशी दुख्ने, नाक बन्द हुने, थकान महसुस हुने लगायतका लक्षणहरु देखिन सक्छन् । डाक्टरका अनुसार यसलाई रोकथाम गर्न बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्छ ।
कमेन्ट गर्नुहोस्