लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलायतमा दिउँसोको समयमा 'जङ्क फूड' को विज्ञापनमा प्रतिबन्ध

IMG

युके। बेलायतमा आजदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फूडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न विश्वकै अग्रणी कार्य भनेर दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।बेलायतको स्वास्थ्य मन्त्रालयले चिल्लो पदार्थ र नुन वा चिनी उच्च मात्रामा प्रयोग भएका उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै प्रतिबन्ध लागू गरेको हो । मिल्कशेक, रेडी–टु–गो कफी र मीठो दही पनि प्रतिबन्धमा परेका छन् ।


अब रातिको ९ बजेभन्दा अघि यस्तो विज्ञापन बजाउन वा अनलाइनमा देखाउन पाइँदैन । विज्ञापनले बच्चाहरूलाई प्रभावित पारि कम उमेरदेखि नै जङ्क फूड खान प्रेरित गर्ने र यसले मोटोपना तथा मोटोपनासँग सम्बन्धित रोगहरूको जोखिम बढाउने सरकारको तर्क छ ।विज्ञापनहरू बन्द गरेकै कारण मोटोपनासँग बाँचिरहेका बच्चाहरूको सङ्ख्या २० हजारले घटाउन सक्ने मन्त्रालयको विश्वास छ । यस्तै सरकारले स्थानीय अधिकारीहरूलाई विद्यालय नजिक स्थापना हुने फास्ट फूड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ ।


बेलायतमा जङ्क फूडको कारण बालबालिकामा मोटोपना र दाँतसम्बन्धी समस्या बढेको अध्ययनबाटै पुष्टि भएको छ । ओबेसिटी हेल्थ एलायन्सका कार्यकारी निर्देशक क्याथरिन जेनरले यो कदम बच्चाहरूको स्वास्थ्यलाई हानि पुर्‍याउने खाना र पेय पदार्थको विज्ञापनबाट संरक्षण गर्ने दिशामा स्वागतयोग्य र लामो समयदेखि प्रतीक्षा गरिएको विषय भएको बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्