लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवाहरुको रोजगारीको माग अब मेरो मुख्य ध्यान:विष्णुप्रसाद पौडेल

IMG

बुटवल। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा रुपन्देही क्षेत्र नम्बर–२ का मतदातासँग आफ्नो प्राथमिकता साझा गरेका छन्। पौडेलले अब भौतिक पूर्वाधारसँगै मानवीय विकास र रोजगार प्रवर्द्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताएका छन्।


बुटवल–११ देवीनगर र बुटवल–१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उनले भने, “रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाहरुको विकास अब सम्पन्नताको अवस्थामा पुग्दैछ। तर यसले मात्रै पर्याप्त छैन। यहाँको आयस्तर वृद्धि र रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने योजनामा मेरो ध्यान केन्द्रित हुनेछ।”पौडेलले जेनजी आन्दोलनको मुख्य माग रोजगारी रहेको स्मरण गराउँदै त्यसलाई पूरा गर्ने प्रयासमा आफ्नो ध्यान केन्द्रित रहेको बताए। उनले रुपन्देहीका जनता विश्वस्तरको जीवनशैलीमा बाँच्न पाउनु पर्ने भएकाले ठूला र महत्वपूर्ण योजनाहरू पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।


उनले बुटवलमा निर्माणाधिन मुलुककै ठूलो १२ तलाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल–पोखरा सडक विस्तार (२ घण्टामा यात्रा सम्भव हुने), बुटवल–गोरुसिंगे तथा बुटवल–नारायणगढ सडक विस्तार, तिनाउ पुलमा सिग्नेचर ब्रिज निर्माण, मेडिकल कलेज स्थापना लगायतका ठूला परियोजनाहरूमा आफ्नो योगदान उल्लेखनीय रहेको बताए।साथै उनले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, बुटवलमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालन, औद्योगिक क्षेत्र विकास र रोजगार सिर्जनामा जोड दिनुपर्नेमा पनि बल दिएका छन्।

कमेन्ट गर्नुहोस्